एउटा कम्पनीले असारमा पाँच सय डलर खर्चेर कुनै सामान विदेशबाट आयात गर्यो । त्यतिखेर डलरको विनिमय दर ८० रुपैयाँ थियो । असार मसान्तसम्म डलरको भाउ बढेर प्रतिडलर ९० रुपैयाँ पुग्यो । भदौमा उक्त सामानको भुक्तानी गर्ने बेला डलरको भाउ १ सय रुपैयाँ नाघिसकेको थियो । यस हिसाबले उक्त कम्पनीलाई विदेशी मुद्रामा भएको कारोबारबाट प्रतिडलर २० रुपैयाँको दरले कुल १० हजार रुपैयाँ घाटा हुनपुगेको छ । यस्तो अवस्थालाई करमा कसरी प्रस्तुत गर्ने ? दुई भिन्न ‘क’ र ‘ख’ कम्पनीलाई एकै किसिमको समस्या पर्यो ।
‘क’ कम्पनीले असार मसान्तसम्म भएको घाटा प्रतिडलर रु. १० (९० र ८० रुपैयाँ विनिमय दर हुँदाको फरक) ले कुल घाटा पाँच हजार रुपैयाँलाई असार मसान्तमै घाटा लेखेर कर विवरण पेस गर्यो । बाँकी घाटा अर्को पाँच हजार रुपैयाँ पछिल्लो आय वर्षमा घाटा लेख्यो । यस कम्पनीको अघिल्लो आय वर्षको कर परीक्षण गर्दा कर कार्यालयले भुक्तानी नै नभइसकेको दायित्वमा घाटा भएको मानी खर्च लेख्नु न्यायोचित नभएकाले कम्पनी ‘क’ले लेखेको घाटालाई अमान्य गरी त्यसमा कर, जरिवाना तथा व्याज असुल गर्ने निर्णय गर्यो ।त्यस्तै ‘ख’ कम्पनीले भने असार मसान्तमा भुक्तानी नभएको कारण जनाउँदै कुनै पनि घाटा खर्चको रूपमा लेखेन । त्यसै बमोजिम आय विवरण पेस गर्यो । पछिल्लो भुक्तानी भएको वर्षको आय विवरण बुझाउँदा भने कम्पनीले सोही कारोबारमा प्रतिडलर २० रुपैयाँ नोक्सानी भएको भन्दै १० हजार रुपैयाँ खर्च दाबी गर्यो । कर कार्यालयले यस कम्पनीको पछिल्लो आय वर्षको कर परीक्षण गर्दा कुल १० हजार घाटा बापतको खर्चमध्ये ५ हजार अघिल्लो वर्षमा घाटा भइसकेकाले यस वर्ष खर्च लेख्न नमिल्ने भन्दै कम्पनी ‘ख’ले लेखेको घाटालाई अमान्य गरी त्यसमा कर, जरिवाना तथा व्याज असुल गर्ने निर्णय गर्यो ।