माघ १० गते बेलुकी ९ बजे नेपाली टेलिभिजन कै एक चर्चित कार्यक्रम साझा सवाल हेरेपछि यो ब्लग नलेखि सुत्न मन नै लागेन । यो ब्लगमा, मैले साझा सवाल मार्फत काँचको पर्दामा देखाएको नेपाली समाजको घटनाक्रमलाई आधार लिई बिश्लेषण गर्ने सोच बनाएको छु ।
प्रथमतः यस्तो बिशिष्ट प्रकारको कार्यक्रम गर्ने सोच ल्याउने ब्यक्तिलाई साधुबाद । यो कार्यक्रम हेर्दा धेरैलाई नेपालको बिकट तथा बिजोगको स्थिति देखियो भनेर चिन्ता पनि लाग्यो होला, जुन स्वभाबिक पनि छ । तर मलाई त्यो चिन्ताको साथसाथै, धेरै घटनाक्रमलाई शुक्ष्म तरिकाले नियाल्दा खुसी पनि लागेको छ ।
दुःखको कुरो सबैलाई थाहा छ, दुःख बुझ्न धेरै कठिनाई गर्नु पनि पर्दैन । मानबिय सोच भएका जो कोहिले पनि दुःखलाई सजिलै अनुभब गर्न सक्दछन् । त्यसैले म यहाँ दुःखको भन्दा पनि नेपालको समाजको हालको चरित्रबारे उल्लेख गर्नेछु ।
साझा सवालको यो एक भागले नेपालको समाजलाई निकै राम्रो गरि प्रतिबिम्बित गरेको छ ।
भुकम्पले पिडित भएर खान समेत नपाएको अबस्थामा हरेक गाँउलेले घरमा जाँउ, बसौँ, कुरा गरौ भनेर अनुरोध गरि घरमा लगेर जे छ त्यसमै स्वागत गरेको देख्दा मन भित्रबाटै आनन्दित हुन्छ । जति दुःख परे पनि पाहुनाको स्वागत सत्कारमा नेपाली पछि छैनन भन्ने कुरा यहाबाट थप प्रष्ट हुन्छ ।
नेपाली भाषा पनि राम्रो गरि बुझ्न नसक्ने बालबच्चा भएको बस्तीमा गएर राजेश हमालले अंग्रेजीमा प्रश्न गर्दा अंग्रजीमै उत्तर दिनसक्ने बच्चाको क्षमता अतुलनिय नै छ । यो नेपालको शिक्षामा आएको निकै ठुलो परिबर्तन मान्न सकिन्छ ।
नेपालको समाज हेरेर अर्को उत्साहित हुनुपर्ने कुरा भनेको, उजेलीले ब्यक्त गरेको बिचारलाई लिन सकिन्छ । गाँउको साधारण बिद्यालयमा जम्मा जम्मी पाँच कक्षा सम्म पढेको एउटी केटिको सोचको स्तर निकै माथि छ । कलिलो उमेरमा बिबाह गर्नुहुदैन, पढ्नुपर्दछ, ठुलो मान्छे हुनुपर्छ, सुख पाईन्छ, गाँउलेको सेवा गर्छु भन्ने बिचारले दिमाग भर्नु चानचुने कुरा पक्कै होईन । म देशको कुनाकाप्चासम्म पुग्दा पनि यस्तो किसिमको जागरुकता जताततै देख्न पाएको छु । सायद यस्तो किसिमको सोचमा परिबर्तनलाई एनजिओ, आईएनजिओ, माओबादी युद्ध, शिक्षाको स्तरले पनि पक्कै ठुलो भुमिका खेलेको हुनुपर्दछ ।
अर्को, नेपाली समाजको उत्कृष्ठ पक्ष भनेको जोसँग पनि सजिलै घुलमिल हुनसक्ने तथा आफ्नो गोप्य कुराहरु पनि सजिलै अरुलाई बिश्वास गरि बाड्ने बाँनी पनि प्रतिबिम्बित हुन्छ । यस्तो बानीब्यहोरा धेरै स्थानमा फाईदाजनक भए पनि कहिलेकाँही आत्माघाती भएको अनुभब गर्न सकिन्छ ।
नेपाली समाज अहिले बिचार गर्दा सोच तथा छलफलमा खुल्ला भईसकेको भान हुन्छ । जस्तै, ईन्द्र बहादुर गुरुङसँगै गाउले बसेर गरेको परिवार नियोजनका कुरा तथा बच्चा जन्माउने बारेको खुल्ला छलफलले नेपालको समाज खुल्ला बन्दै गएको निष्कर्ष निकाल्न सकिन्छ । यस्तो अबस्थाले, समाजलाई थप मजबुद तथा बिकाश गर्न थप सहयोग पुग्दछ ।
अझ दुःख लाग्यो ।
मलाई सबैभन्दा दुःख लागेको कुरा भनेको कोहि पनि नागरिक केहि पनि नगरि बसेका थिए । आफैले गर्न सक्ने कुरा पनि नगरि अरुको मुख ताकेर बस्ने प्रबृत्ति धेरै डरलाग्दो हो । जस्तैः साधारण मर्मत गरेर राम्रो बनाउन सकिने धारा बनाउन काठमाण्डौबाट मन्त्री नै पुग्नु पर्यो । त्यस्तै भएको एउटा चर्पी मर्मत गर्न पनि राजेश हमाल नै गाँउमा पुग्नु पर्यो । यसले गर्दा मानिसहरु परजिबी बन्दै गईरहेको देखिन्छ । मानिसहरुमा आफैले गरेर बिकाश हुन्छ, सुख पाईन्छ भन्ने आशा र जाँगर दुबै छैनन् ।
सांसद भनेको त जनप्रतिनिधि हो, जनताको आफ्नो दुःख सुख सरकारसम्म पुर्याएर जनतालाई राहतको अनुभब गराउने काम जनप्रतिनिधिकै हो । जनप्रतिनिधिहरु जनतासँग सँधै सम्पर्कमा रहनुपर्नेमा त्यहाँका कोहि जनताले पनि मन्त्री भईसकेको मान्छेलाई चिन्न सकेनन् । आखिर कस्तो रहेछ त जनप्रतिनिधिको जनतासँगको सम्बन्ध, हामी सबैले सजिलै अनुमान गर्न सक्दछौ ।
अन्तिममा उजेलीको प्रश्नको उत्तर दिन चाहन्छु, "यहाँ स्तर अनुसारको दु:ख छ, दुखको पनि प्रकार छ, तिमि मात्र दुखि होइनौं, हामी पनि दुखि छौ, बस फरक यति हो, तिमि दुखले दुखि छौ, हामि तिम्रो दुख देखेर दुखि छौ |"