“शेष, तिमी खुसी हौ, टेन्सन लिदै नलेउ है ।” यसो भन्दै गर्दा मलाई यसो भन्ने मेरो साथी नै टेन्सन बोकिरहेकी थिइन । त्यसो भन्ने मान्छे त खुसी हुनुपर्ने हो नि तर उनीलाई त्यसबखत मैले कुनै पनि कोणबाट खुसी देखिरहेको थिइन । उनी मनमा बिभिन्न कुण्ठाहरु पालेर बसिरहेकी थिइन, न त्यो कसैसँग खोल्न सक्थिन न त्यसलाई ब्यबस्थित गर्न सक्थिन । आखिर मान्छे भित्र दुखी हुदाँहुदै किन बाहिर खुसी देखिन चाहन्छ ? त्यसपछि म सोच्न थाले, कतै म दुखी त छैन ? खुसी हुनु मात्र ठुलो कुरा हो कि अरु केहि छ ? आखिर के रहेछ त खुसी भनेको ? मान्छे कसरी बन्न सक्छ त खुसी ?
पहिलो कुरा खुसीे के होला ? मेरो बिचारमा खुसी भनेको “खुल्ला सिमाना” अर्थात जो ब्यक्ति आफ्ना पिर मर्काका कुराहरु बिना कुनै सिमाना आफ्ना नजिकका मित्रहरुसँग खुल्ला छलफल गर्न सक्छ, त्यो ब्यक्ति नै खुसीको पहिलो हकदार हो । छलफलको क्रममा नबुझ्नेले यो मान्छे त दुखी रहेछ भन्ठान्लान तर यो खुसी हुने एक सफल प्रकृया मात्र हो ।
यो दुनिया स्वार्थी छ, यो ध्रुबसत्य कुरा हो । यहि स्वार्थ बिच पनि मान्छेले खुसी खोजिरहेको हुन्छ । मान्छे खुसीहुन कति सम्म स्वार्थी हुन्छ भने, तपाईहरुले एउटा भनाई सुन्नु भएको छ ? “तिम्रो खुसी भनेको मेरो खुसी हो भन्न समेत पछि पर्दैन ”( बास्तबिकतामा त्यसो होस या नहोस ) । यसको अर्थ आफ्नो खुसीले मान्छेलाई नपुगेर अर्काको खुसी मा नि खुसी हुन छोड्दैन । आखिर मान्छेलाई किन केहिले नपुग्ने रहेछ ?
मान्छेलाई खुसीले नपुगे नि उसको खुसी पाउने तरिका नजानेर धेरै समय दुखी नै भइरहन्छ । यो जगत कति सम्म असन्तोषी छ भने, धेरै बाचेको मान्छे धेरै बाचियो भनेर पिर मान्छ, निकै धेरै उमेर नखाई मर्न आटेको मान्छे नि छिटै मर्न लागियो भनेर चिन्तित छ । किन मान्छे जुनसुकै कुरामा खुसी हुन सक्दैन त ? मान्छेको हेर्ने नजर परिबर्तन भए त हर कुरामा उ रम्न सक्थ्यो नि । किन यसमा मान्छे ले प्रयास गर्दैन ?
यस्तै छलफल चल्दा मेरा एक मित्रले भने, तिमीलाई भन्न सजिलो छ, नेपालमा बसेर नि कसरी खुसी हुनु ? बिजुली छैन, प्रेट्रोल भनेको समयमा पाइदैन, ट्राफिक जाम भइरहन्छ, पानी आउदैन, सुरक्षा छैन, सडक भत्केर हिलै छ, राजनितिक अस्थिरता छ, त्यसबिच हामी कसरी खुसी हुनसक्छौ ?
मेरो जवाफ थियो, यिनै समस्याले त हामी झन खुसी बनाइरहेको छ त । तिमी जाममा नपरी अफिस पुग्यौ भने, तिमी त्यसै खुसी, तिम्रो दिन नै सफल हुन्छ, एक ट्याङ्कि प्रेटोल लाइनमा नबसि हाल्यौ भने, साथीलाई भोज खुवाउने लेभलको खुसी हुन्छौ, धारामा पानी आएको दिन त खुसी ले रातभर निन्द्रा लाग्दैन, अरु त छोड्देउ, नेपालमा नयाँ प्रधानमन्त्री सजिलै चुनेको पायौं भने तिम्रो त्यसमा नि खुसीको सिमा हुन्न । ल भन त, अमेरीकामा जाममा नपरी अफिस पुगियो भनेर कति जना खुसी होलान । धारामा पानी आयो भनेर कतिले खुसी साट्लान ?
यो संसारमा सबैभन्दा खुसी हुनुपर्ने प्राणी भनेको त नेपाली नै होला, जे मा पनि खुसी हुने । ठुलो कारण बिनै सानो सानो कुरामा रमाइरहने । मेरा एक बिदेशी मित्रले भन्थे, नेपालीलाई रमाउन बाहाना मात्र चाहिन्छ, पुरापुर रमाउन सक्छन, कुनै ठुलो कारण बिना । एउटा नयाँ बर्ष पनि नेपालीले पाँच पटक भन्दा बढि पटक मनाउछन, अरु त के कुरा गर्नु ? तर धेरै नेपाली खुसी हुने तरीका नजानेर दुखी छन् । धेरै नेपालीहरु घमण्ड कै कारण दुखी देखिन्छन् । आफुभन्दा जान्नेसुन्ने र उत्कृष्ठ मान्छे कोहि छैन, अरु सबै मान्छे बेबफुक हुन भन्ने सोचले मान्छेलाई सधै दुखी बनाइरहेको हुन्छ ।
म त मर्नै लागे भने नि खुसी हुन्छु, यो पृथ्वीमा खुसी खोज्न अब धेरै मेहनत गर्नु नपर्ने भो भनेर । मर्न लाग्दा त खुसी हुने सोच राख्ने मान्छे, अब अरु के कुराले त्यस्तो मान्छेलाइ दुखी बनाउला र ? मरेर लानु के छ र हो ? बाच्दा नि खुशी नहुनु ? आज मरे भोलि दुई दिन हुन्छ, टेन्सन जति सबै टेन्सन बोक्न जन्मिएकालाइ !!! एक पटक पाएको जिन्दगीमा टेन्सन, पिर मात्रै लिएर के जित्नु छ र ? जति बाचिन्छ, खुसी भएर बाच्नु राम्रो । मरेर जादाँ हामी सँग जाने भनेको हामीले पाएको खुसी र दुःख मात्र हो । मरेर जाँदा नि लिएर जाने कुरा पाउन हामी किन ढिला गर्ने ? सारमा हेर्दा त जिन्दगीमा खुसी बाहेक अरु कुराको केहि मुल्य नै छैन ।
जिबन भर खुसी हुन चाहने सबै लाइ मेरो एउटा शुभकामना “जिन्दगीमा यति खुसी हुनु कि, खुसीले नि तिमीसँग खुसी माग्नु परोस ।”